Saturday, June 8, 2013

संरक्षण र सम्बर्धनको पखाईमा महाराजथानहरु

संरक्षण र सम्बर्धनको पखाईमा महाराजथानहरु
झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने आदीवासी कोच समुदायको पुजाआजा गर्ने आफ्नै ग्रामथान हुन्छ जसलाई महाराजथान भनिन्छ । यी महाराजथानमा उनीहरुले हरेक नव वर्ष सिरुवा पर्वमा, जात्रा पावनीमा, विवाह कार्यमा सफासुघर गरी धुमधाम संग पुजाआजा गर्ने गर्दछन् । तर पछिल्लो समयमा यस्ता महाराजथानहरुको जग्गा संरक्षणको अभावमा भुमाफियाहरुले जवरजस्ती हडपेका छन् । आदिमकाल देखि... नै यी महाराजथानहरुमा कोच आदिवासीहरुले ग्राम थानको रुपमा पुजाआजा गर्दै आए पनि पछिल्लो समयमा ग्रामथानका जग्गालाई भुमाफियाहरुले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । झापा, मोरङ्ग र सुनसरीका यस्ता केयौ महाराजथानका जग्गाहरु ह्ड्पेको उदाहरणहरु कैयौं छन् । झापा कोहोवारा –८ स्थित दामुना महाराजथान भुमाफियाहरुको शिकार भएको ज्वलन्त उदाहरण देख्न सक्छौं । कोहोवाराका लोक वहादुर वस्नेतले महाराजथानको करिब १४ कठ्ठा जग्गा हडपेका छन् । वस्नेतले सो जग्गा आफ्नो नाममा दर्ता गरी जोतभोग गरिरहेको स्थानीयवासी भत्तिराम ताजपुरिया बताउँछन् । सो जग्गा थानको नाममा फिर्ता गराउन स्थानीयले पटक पटक प्रयास गरे पनि फिर्ता हुन सकेको छैन् । स्थानीयवासी भत्तिराम ताजपुरियाका अनुसार दर्ता खारेजीका लागि गाविसवाट सिफारिस लिई नापी शाखा र मालपोत कार्यालयमा गई दर्ता खारेजी प्रक्रिया अगाडि बढाउनुका साथै जिल्ला प्रशासन कार्यालयमा दर्ता खारेजीको माग गर्ने रहेको छ । वस्नेतले कार्यालयका कर्मचारीसँँगको मिलेमतो र पहुचको आधारमा केहि वर्ष अधि महाराजथानको जग्गा आफ्नो नाममा दर्ता गरेको बुझिएको छ । दामुना महाराजथानमा हरेक नयाँ वर्षको दोस्रो दिन वैशाख २ गते विषेश पुजाआजा गरी गा्रम अर्थात पुरै गाउँमा वसोवास गर्ने मानिसहरुको सु–सुवास्थ्य, दीर्गायु एवं उन्नति र प्रगतिको कामना गरी मेला लगाउने गरिन्छ ।
यसैगरी झापाकै खजुरगाछी गाविसको वार्ड नं. ८ मा रहेको महाराजथानको करिब ६ कठ्ठा जग्गा हडपिएको छ । महाराजथानकै छेउमा बसोवास गर्ने कृष्ण उप्रेतीले आफ्नो श्रीमतिको नाममा दर्ता गरी जोतभोग गरिरहेको महाराजथानका पुजारी श्रीप्रसाद राजवंशीले बताए । २०५२ सालमा आएको नापी टोलीमा उप्रेतीले सो थानको जग्गा श्रीमतिको नाऊमा नामसारी गरेको थानका पुजारी राजवंशीले बताए । राजवंशीका अनुसार २०२१ सालको नक्सामा समेत सो जग्गा महाराजथानको नाममा उल्लेख भएपनि उप्रेतिले नापी टोलीका कर्मचारीसँगको मिलीमतोमा जग्गा दर्ता गरेको हो । हाल सो महाराजथान करिव ५ दुरमा सिमित छ । ग्रामथानको रुपमा रहेको सो महाराजथानको जग्गा फिर्ता गराउन स्थानीयवासीले केयौंपटक प्रयास गरे तर सफल भएनन् । बरु त्यसको सट्टा उप्रेतीले सो जग्गामा घेरावेरा लगाई जोतभोग गरिरहेका छन् । यी दुई महाराजथानको जग्गा हडपेको उदाहरण मात्र हुन । यस किसिमको महाराजथानको कैयो जग्गा भुमाफियाको शिकारमा परेको छ । झापा, मोरङ्ग र सुनसरी जिल्लाका सयौं महाराजथानको जग्गा वस्नेत र उप्रेती जस्ता भुमाफियाहरुले हडपेका होलान । कतै तपाईको महाराजथान पनि त यसको शिकारमा परेको छैन ? ती महाराजथानका जग्गाहरुलाई भुमाफियाहरुको हातवाट खोस्ने कि न खोस्ने ? जग्गाको संरक्षण गर्ने कि नगर्ने ? के यसरी नै बचे खुचेका महाराजथानका जग्गा पनि ती उप्रेती र वस्नेत जस्ता भुमाफियाहरुलाई छाडिदिने ? आज हामीलाई यस विषयमा गम्भिररुपमा सोच्नु पर्ने बेला आएको छ ।
हामी आफुलाई प्रकृति पुजक भन्छौं । महाराजथानलाई आफ्नो कुल देवताको रुपमा पुजा गर्छौ । अर्थात महाराजथानलाई हामी हाम्रो संरक्षकरुपमा लिन्छौ तर आज विडम्वना के छ भने हामी तिनै संरक्षकलाई वस्नेत र उप्रेतीहरु जस्ता भुमाफियाहरुलाई सुम्पिरहेका छौं । कुनै दाहाल र पौड्याललाई बन्दगी लगाएका
छौं । हाम्रो कुल देवतालाई बन्दगी लगाइदिए पछि हाम्रो अस्तित्व कहाँ रहयो त ? महाराजथान त हाम्रो धरोहर हो । हाम्रो पहिचान हो । हाम्रो संस्कृति हो । के हाम्रो दायित्व हुदैन र ? ती पहिचान र संस्कृतिलाई संरक्षण गर्ने । ती नै शिकारमा परेका महाराजथानहरु आज संरक्षण र संम्बर्धनको पर्खाइमा छन् । यदि हाम्रो दायित्व बन्छ भने आजै देखि सम्पुर्ण आदिवासी कोचहरु हतेमालो गरौं र संकल्प लिऊ । महाराजथानको जग्गा बचाउ अभियान छेडौ । कोचभुमिमा बसोबास गर्ने कोचिलाहरुको मुल पहिचान जोगाऊ ।

0 comments:

Post a Comment